३१ चैत्र २०७७, मंगलवार

ताजा खबर

शीर्षक: “नयाँ वर्षको शुभकामना” (विधा-कविता)

   ३१ चैत्र १२:०२ प्रकाशित

✍️ कृष्ण ढकाल

बेरोजगारीले पिल्सिएर
खाडी जान बाध्य पारिएका
ती आधा पेटहरुलाई,
नयाँ वर्षको शुभकामना !
युरोप र अमेरिकामा
आफ्नो खुशी बेचेर
खिचिएका रंगिन फोटाहरुलाई,
नयाँ वर्षको शुभकामना !!

बेचिदै गरेको छोरोलाई
एयरपोर्टमा ओझेल नभइन्झेल
हेर्न बाध्य बाबाका आँखाहरुलाई,
अनि हरेक दिन
छोरा आईनपुग्ला कि भन्दै,
आमालाई लागेका बाडुल्कीहरुलाई,
नयाँ वर्षको शुभकामना !!

पानीजहाज र रेलका सपनाहरूलाई
स्वीजरल्याण्ड बनाउने भाषणहरुलाई
ज्योतिषीका भविष्यवाणीहरुलाई
नयाँ वर्षको शुभकामना !
रातारात गायब पारिएका,
वाइडबडीका फाईलहरुलाई
माफियाले कब्जा जमाएका
बालुवाटारका जग्गाहरूलाई,
नयाँ वर्षको शुभकामना !!

जेट दुर्घटना पारी आधा बाटोमै
यात्रुलाई छिन्नभिन्न बनाउने
ती होनहार पाइलटहरूलाई
नयाँ वर्षको शुभकामना !
एकाएक साउथ इन्डियन फिल्मको
नायक झै यू टर्न मारेका
सिके र विप्लवहरुलाई,
प्रतिपक्षको भुमिका निभाइरहेका
माधव र झलनाथहरुलाई,
कठै बरा कांग्रेसहरूलाई,
नयाँ वर्षको शुभकामना !!

वन मन्त्रीका भाषणहरुलाई,
परराष्ट्रका त्रुटिहरुलाई
गोयलसँग गरिएका
गोप्य भेटहरूलाई
भुगोल फिर्ता नभएका
चुच्चे नक्साहरूलाई
नयाँ वर्षको शुभकामना !
नेतालाई देवता सरह मानेर
पटकपटक झुक्यारहेका भाषणमा
ताली पिट्न उद्धत हाम्रा हातहरुलाई,
नयाँ वर्षको शुभकामना !!

कर नतिरी भाग्न खोज्ने
एनसेलका प्रवृत्तिहरुलाई,
कुलमानहरूलाई सिध्याउने
नियती र चरित्रहरूलाई
भ्रष्टचारीलाई काखी च्यापी
उन्मुक्ति दिने शासकहरूलाई,
नयाँ वर्षको शुभकामना !
कोरोना कहरपनि लुट्न नछाड्ने
सहकारी र प्राइभेट स्कुलहरूलाई,
सामाजिक अभियान चलाएर
पेट भरेका अभियन्ताहरुलाई,
नयाँ वर्षको शुभकामना !!

नयाँ वर्षको शुभकामना
आफू फोहोरमा लटपटिएर
देशमा चै वसन्तको वहार खोज्ने
हाम्रा यी विचरा अठोटहरुलाई,
नयाँ वर्षको शुभकामना !!!