१८ चैत्र २०७७, बुधबार

ताजा खबर

मेरो पासपोर्ट जलाइदेऊ सरकार !

   १० माघ २१:५० प्रकाशित

✍️ कृष्ण ढकाल

“छोरा घर शुन्य छ, तिमीहरू लाखापाखा लागिहाल्यौ, न चाडवाड आएजस्तो हुन्छ, न घरमा मिठो मसिनो पकाएर खान जाँगर नै चल्छ।” मैले हरेक साँझ फोन गर्दा आमाले बोल्ने अनुत्तरित बाक्य यही हुन्छ । सरकार, तिमीलाई यो थाहा नहुन सक्छ की मेरी आमाको त्यो वाक्य आज हाम्रो देशका हरेक आमाबुबाको प्रतिनिधी वाक्य हो ।

हरेक वर्ष सरकारले आवेदन खोल्ने रोजगारीका अवसरहरू हेर्ने हो भने, वार्षिक दिक्षित हुने युवाको सङ्ख्याको एक चौथाइ पनि छैन । त्यसैले, अचेल प्रत्येक घरका छोराछोरी प्लस टु वा स्नातक सक्ने बित्तिकै आफ्नो दक्षता र क्षमताले भ्याउने विदेशी भूमीमा गएर आफ्नो देश खोज्दैछन् कि त राहदानी बनाउने लाइनमा बसेर आफ्नो कर्मलाई धिक्कार्दै छन् । तर ती जोसिला युवाको श्रम, पसिना र बौद्धिकतालाई राहदानीमा छाप लगाएर देशमा समृद्धि आउन सक्दैन भन्ने तथ्य बुझ्न तिमीलाई अझै कति समय लाग्छ, सरकार ?

ज्ञानु भाइ दश वर्ष खाडीमा पसिना बगाएर कार्यअवधी थप गर्न नमिल्ने भए पश्चात् देश फर्कने तयारीमा छन् । तर उ भित्र म कुनै हर्ष देख्दिन । जति घर फर्कने समय नजिक हुदैछ उसको मुहार त्यति नै मलिन देखिन्छ । कारण, देश फर्किएपछि आफू र आफ्नो परिवारको जीवनयापन कसरी चलाउने भन्ने कुराले उसलाई दिनरात पिरोल्न थालेको छ । उसले विदेशमा सिकेको सीप र अनुभव देश फर्किएर प्रयोग गर्ने ठाउँ पनि छैन । उसले यतिका वर्ष खाडीमा कमाएको पैसा, देशमा रहेका आफ्नो सिंगो बेरोजगार परिवारको खर्च धान्नमै ठिक्क भयो । अब न त उसले आफू लगानी गरेर केही गर्नसक्ने क्षमता छ न त देशमा रोजगार नै छ । दश वर्ष पहिले जुन समस्याले खाडी भासिएको ज्ञानु आज दश वर्षपछि देश फर्कदापनि उसका समस्याहरू जस्ताको उस्तै छन् । यो समस्या खाडीमा भविष्य खोज्न हिडेका लाखौं ज्ञानुहरूको समस्या हो ।

देश सङ्घीयतामा गएर निर्वाचन भएको पनि करिब तीन वर्ष हुन लाग्यो । यो बिचमा समृद्ध नेपाल, सुखी नेपालीको नारा खुब सुनिए । अन्ततः ती नारा र सपनाहरू कुर्सीको खेलमा अड्कियो । त्यति मात्र नभएर देशमा बेचेका युवाहरू पनि अहिले राजनीतिक स्वार्थका लागि निर्जीव इटा र ढुङ्गा सरह प्रयोग भइरहेका छन् । जनताले पाँच वर्षको लागि दिएको जनादेशलाई राजनीतिक खिचातानीले लत्याएर नयाँ जनादेश भन्दै चुनावको नाममा पुनः राज्यको सम्पत्ति दोहन हुन लाग्दैछ । तर म जस्तै लाखौं युवाहरूको एउटै सपना छ, आफ्नो सीप र क्षमता अनुसार देशमै बसेर केही रोजगार गर्ने । जसरी म सानो छँदा मेरो सुख दुःखको सहारा आमाबुवा हुनुहुन्थ्यो, त्यसरी नै म उहाँहरूको बुढेसकालको लौरी बन्न चाहन्छु । मलाई रहर छ, बिहानको चिया परिवारसँग गफगर्दै खाने । मलाई रहर छ, करेसाबारीमा श्रीमतीसँगै मिलेर तरकारी लगाउने । मलाई रहर छ, आमालाई बिसन्चो हुँदा घर नजिकैको अस्पतालमा आफैँले जचाउन लैजाने । मलाई रहर छ, मेरो भर्खर हिन्न सिक्दै गरेको छोरोलाई हात समाएर आफैं हिड्न सिकाउने । अनि मलाई रहर छ, छोराहरूले गाउँकै सरकारी विद्यालयमा गुणस्तरिय शिक्षा पाएको हेर्ने । सरकार, के मेरो रहर सूर्य पश्चिमबाट उदाउनु जत्तिकै असम्भव छ ? मेरो यो सपना पूरा गर्न तिम्रो कुनै भूमिका रहन्छ कि रहँदैन ? के आफ्नो परिवारसँग बसेर सुख दुःख साट्नु पनि हाम्रो लागि सपनामात्रै हुनेभयो ? मोनो रेल र पानीजहाजका ठुलाठुला सपना बाड्नेले यो राहदानी कहिले जलाउन सक्छौ सरकार ?

एकतिर देशमै वार्षिक पाँच लाख रोजगारीको अवसर सिर्जना गर्छौ भन्थ्यौ अर्कोतिर युवालाई विदेश पठाउने नयाँनयाँ सम्झौतामा हस्ताक्षर गर्छौ । यसरी आफ्नै छोराछोरीलाई अरुको घरमा कमारो राखेर आएको पैसाले तिमी कतिदिन रमाउँछौ सरकार ? मलाई थाहा छ, यो चित्कारले तिमीलाई छुँदैन । न त हरेक दिन त्रिभुवन विमास्थलबाट उडेर जाने आम नेपाली युवाको सपनाले तिमीलाई छोयो, न आफ्ना छोराछोरी दुई छाक जुटाउनकै लागि जहाजका खुडकिलो चढ्दा चर्किने आमाको छातीको वेदनाले तिमीलाई छोयो, न देशका हजारौँ जनशक्तिहरू अरुको भूगोल बनाउँदा बनाउँदै ढल्दा तिमीलाई छोयो ।

अव्यवस्थित डोजर चलाएर वा पहाड नै पहाडको देशमा भ्यु टावर बनाएर मात्र देश समृद्ध बन्दैन सरकार । अब गाउँ लक्षित कार्यक्रम ल्याऊ । पासपोर्ट जलाएर युवालाई सृजनशील उद्यममा लगानी गरिदेऊ ।सरकारी अस्पताल र सरकारी विद्यालयको गुणस्तर बढाउन प्रतिस्पर्धात्मक कार्यक्रम ल्याऊ । सरकारी कर्मचारीका लागि प्रोत्साहनमुखी योजनाहरू बनाएर कार्यान्वयन गर । स्थानीय निकायमा प्राप्त हुन सक्ने स्रोत साधनलाई मध्य नजर गरेर स्थानीयलाई लघु उद्यम सञ्चालनका लागि वातावरण बनाइदेऊ । बाह्य लगानीलाई प्रोत्साहन गरि दुर्गम क्षेत्रमा पनि उद्योग, कलकारखाना निर्माणमा जोड देऊ । स्रोतको समान बाँडफाँड गर । हामी सबैले देखेको समृद्धि यस्तै साना प्रयासहरूबाट आउने छ । के यति गर्न पानीजहाज कुदाउन भन्दा पनि गाह्रो छ र ?