३१ चैत्र २०७७, मंगलवार

ताजा खबर

कवि र कविता (शृङ्खला-३) बाँस कविता

   १८ पुष १६:४१ प्रकाशित

“ठुली”

हाउ ठुली!
धारिलो ढुंगाले हरियो बाँसको
आँख्ला भरी तिम्रो नाम खोप्नु
तिम्रै नाममा भावना पोख्नु
सायद, त्यो बेला
तिमी प्रतिको मेरो अपरिपक्व प्रेम थियो।

हिक्क हिक्क बाडुली चल्दा
झट्ट तिमिलाई सम्झिनु।
टक्क बाडुली छुट्नु!
सायद,
त्यो एउटा संयोग थियो।

दिदीबहिनीको फुटेको काचको चुरा
रुमालमा बेरेर भाच्दै,
म प्रती तिम्रो प्रेम कति? तौलनु।
पाटीपौवाका भित्तामा बाँसका
आख्लामा,
पिपल पात कोरेर खरिमट्टीले
ठुली प्लस राजा।
जोडि मिलाउनु।

सायद, यो सब
म बालिग भएपछि शरीरमा
यौवनपुष्प तरङ्गीत हुँदा
चाहानाहरु छचल्किएको मात्रै थियो।

आजकल,
झुकिएर पाइलाहरु पर्दा पाटीपौवामा
झोक्राएर हेर्छु।
भत्किसकेछ्न पाटी पौवा
घासदाउरा गर्दा कहिले मेलापात
भर्न हिन्दा टक्क पाइला रोकेर हेर्छु
बाँसको झ्याङ्गमा।
तिम्रो नाममा कँुदेका प्रेमका ति उत्कण्ठा बाँस सङै ढालेर सकेछ्न दुष्ट चेताहरुले।

तर, ठुली!
त्यो अधकल्चे प्रेम भने
आजसम्म सम्झौटोको गहिरो खत बनि
मलाई कुरीकुरी गर्दै ज्युदै उभिरहेका छ्न।
बाँसघारिमा पाटीपौवामा।

धन्यवाद ।

✍️ जै जिते नेम्बाङ

——————-

“ए मुक्कुमलुङ्मा ए!”

ए मुक्कुमलुङ्मा ए!
ए सुनुयुमा ए!
निसास्सिईरहेको होलाउ
तिम्रो छातिमा अतिक्रमणकारी त्रीशुलहरु रोपिईँदा
माङ्गेना ढल्यो होला!
तिम्रो अस्तित्वमाथी
पाथिभराले बलात्कार गर्दा!

ए मुक्कुमलुङ्मा ए!
ए सुनुयुमा ए !
माफ गर्नु मेरा बाबु र बाजेहरुलाई
जसले कुसमयको आधिबेहरिले हिर्काउदा पनि
तिम्रो बलात्कारको रमिता हेर्न बिबश भए
अहिले भर्खरै
नाति जन्मिएर ठिङ्ग उभिएको छु!
अब म हिँड्दैछु!
म आउँदैछु तिम्रो आङ छोपिदिन!

ए मुक्कुमलुङ्मा ए!
ए सुनुयुमा ए!
तिम्रा छातिमा निर्मम रोपिएका
रक्तपिपासु त्रीशुलहरु उखेल्न!
निर्लज्ज ढालिएको तिम्रो माङ्गेन्ना
तमोर बगुन्जेल उठाईरहन!
तिम्रो नाति युगको चेतना सङ्गै
भर्खरै बिउँझिएर आउँदैछु तिम्रो अस्तित्व रक्षा गर्न!

ए मुक्कुमलुङ्मा ए!
ए सुनुयुमा ए
अब मात्रै!
मलाई काङ्सोरेको रगत जस्तो
नशा-नशा दौडिरहने
कहिल्यै नरोकिने
कहिल्यै नरित्तिने
आशीर्वाद देउ।

✍️ K.S. Yakthungba, रानिगाउ पान्थर

————–

मेरो बोजुको पालामका श्लोकहरुमा नभेटिएको तिम्रो ” मृदङ्गा”

हे
सत्ताले
मातेको मान्छे
तिम्रो सत्ताको आडमा
कति गर्छौ बैमानी
शदियौ देखि बस्दै आएका
यो माटोको
भुइँ मान्छेहरु सग

तिमी बदल्न सक्छौ
यो माटोको नाम
यो पहाडको नाम
यो डाडाको नाम
यो खोलाको नाम
यो झर्नाको नाम
तर के यसरी नै
बदल्न सक्छौ
यो माटोको सुगन्ध ?
यो पहाडको रङ?
यो खोलामा बग्ने पानीको स्वाद?
यो झर्नाले गाएको भाका?

मेरो सुसुबोजुले
यहि
झर्नाको पानी पिएपछी
मेरो बोजु जन्मीकी रे
मेरो बोजुले मि:लुङ सगै
उठबस गर्दै
एउटा युग काटेकी रे
र त
मेरो बोजुको अँखाले मात्र होइन
मि:लुङको अँखाले पनि
सधै खोजिरहेको
आभास हुन्छ मेरो बोजुलाइ

बाजे मुङ्लान जान्दा
एक्लो भएकी मेरो बोजु
बिरक्तीएर
मि:लुङ झर्नाको डिलमा
डोकोभरी दाउराको भारी बिसाएर
बेस्सरी पालाम गाएकि रे
सायद त्यही भएर होला
कहिलेकाही झुक्किएर
मि:लुङ झर्ना पुग्दा
मि:लुङ सुसाएको सुन्दा
मेरो बोजुले
पालाम गाए जस्तै लाग्छ

पालाम गाएरै
एउटा युग वेथित गरेकी
मेरो बोजुको
पालामको श्लोकहरुमा
कहि पनि छैन
तिम्रो “मृदङ्गा” भनेर

हे
सत्ताले
मातेको मान्छे
मेरो बोजुले गाएको
पालामको श्लोकहरु भन्दा
जेठो होइन तिम्रो मृदङ्गा
यदि हुन्दो हो त
सायद
मेरो बोजुको जिब्रोमा
झिन्डिएको हुने थियो
तर बिडम्बना
तिमीले भिराएको मृदङ्गा
मेरो बोजुको जिब्रोले
उच्चारण गर्न सम्म पनि जान्दैन
यो भन्दा ठूलो प्रमाण
अरु के हुन्न सक्छ??

✍️ अबि चेम्जोङ, स्याबरुम्बा पान्थर हाल (दमक झापा)

बाँस साहित्य शृङ्खला ३ अन्तर्गत हरेक महिना तीन बाँस कविका एक एक बाँस कविता झापा बुलेटिनबाट नियमित प्रकाशन गरिनेछ र महिनाको अन्त्यमा समालोचकिय लेख प्रकाशन गरिनेछ ।