२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

शीर्षक: सल्लाघारी (विधा: कथा)

   ४ कार्तिक १३:४५ प्रकाशित

✍️ चित्र माबो (लिम्बू)

‘काली आमा ! काली आमा !’
बाहिरबाट मधुर आवाजमा प्रश्न सोधियो ‘के भयो बाबा ?
आत्तिएको आवाजमा फेरी प्रश्नमा प्रश्ननै गरियो ‘त्यो कुनाको के हो नी ?’
कुनाबाट घोर्ले आवाज आइरहेको थियो ‘ट्वा… ट्वा….!’ गर्दै । काली आमाले फेरी सोधिन ‘ के को आवाज जस्तो छत बाबा ?’
वातावरण प्रश्नविहिन भयो । ‘ट्वा… ट्वा… ट्वा…!’ गर्ने आवाज पनि चुपचाप भयो । कालीबा पिडीमा आएर थ्याच्च बस्यो । थकित मुहार बनाएर चिउडोलाई दायाँ हातले अडेसो दिएर एकोहोरो छानोबाट तप–तप खसेको पानीको थोप्ला हेरिरह्यो ।
सायद दिनको बाह्र बजेको थियो । सिम सिम पानी परिरहेको थियो । कुखुराको पोथी ‘कक्..कक्.. क्देक…!’ गर्दै बारीमा आत्तिएर उड्यो । भालेले टाउको तन्काएर ‘कुखुरी काँ…!’ गर्दै पोथीलाई साएड मार्यो । बाख्राहरु पनि खोरमा ‘पेलेले..पेलेले..!’ गर्दै थियो । असारको दिन भएकोले छिमेकीहरु मेलोमा व्यस्त थिए ।
कालीको बाको काँधमा हात राख्दै ‘बाबा किन आत्तिएको ?’ कालीको बा अलिपनि हल्लिएन । कालीआमाले आसकोटको एक छेउमा समातेर तान्दै उठाइन । कालीको बाको आँखा भरी आँसु थियो । ‘छी ! छोरी मान्छे जस्तो किन आँट सानो बनाउँछौ बाबा ? तिम्रो यत्रो ठूलो महाभारत जत्रो छातीको किन अपमान गर्छौ बाबा ?’ आँखाको आँसु पुछिदिदै भनिन ।
‘तिमीले त गर्नु गर्यौ नी काली आमा । मैले समाजमा कसरी अनुहार देखाउनु ?’ काली आमाको दुवै कुममा हात राखेर मायाँ गर्दै भन्यो ‘तिमीलाई गाह्रो भा’होला जाउ भित्र आराम गर ।’ त्यस पछि पो काली आमाको नाउनारी खस्यो । गोडाले साथ दिन छाड्यो । उनी ढल्न लागीन । दायाँ हातको पाखुरीमा च्याप्प समातेर तान्दै कालीको बाले लगेर कुनामा सुतायो ।
नाक मुख विगारेर रोइरहेको बच्चालाई काली आमाले मुखभरी दुध चुसाउदै भनीन् ‘कति सारो रुदो रहेछौ ?’
‘काली आमा !’
‘किन बाबा ?’
‘खास कुरो के हो त कालीआमा ?’
‘तिम्रो विदेशको कमाइले पेट त भरियो नी बाबा । तर के गर्नु र ?’
‘अब यो समाजमा कसरी आधा नाक बोकेर हिडौ त ?’
‘के गर्नु त बाबा ? पेटमात्र भरिएर हुन्न रहेछ । यो खाली अंगालो र रित्तो मनले तिमीलाई नै खोजिरहयो । आखिर मैले रहरले होईन बाध्यताले गरे । तिमी साथमा भइदिएको भए यो हाल ननिम्तिनेथियो । यो उमेरमा रित्तो मन र अंगालोले कति दिन पर्खोस त बाबा ?’
‘त्यसो भए सालघारीको कथा सत्य नै हो त ?’
‘बाबा ! त्यसबेला पनि मैले त समुन्द्र पारीको तिम्रो तनलाई नै यो मनले सम्झेर भोग गरिरहेको थिए ।’
ननिदाई देखेको सपनाहरु विचली हुँदै थियो । सायद त्यो दुर्वासना थियो यात दुर्दशा नै थियो । कालीकोबा र आमाको जीवनमा तुसारापातको सुरुवाती यहि साल्लघारीको कथाबाट हुँदो हो । काली आमालाई हेर्दै ‘तिमी त मेरी प्यारी हौ नी होइन काली आमा ?’ कालीको बाबाको आँखा भरी आँसु थियो । सायद उसको मनमा ठुलै बज्र परेको छ । छोरा मान्छे हो । आफु नाना थरीको व्यवहार गरेर हिडे पनि पत्नी सावित्री होस । कसैले कोल्टे आँखाले नहेरोस भन्ने चाहना सबैको हुन्छ । यो सबै पुरुषको स्वभाविक प्रक्रिया नै हो ।
काली आमाले अनुहार लुकाइन । “तिमी मेरी प्यारी हौ नी काली आमा ?” भन्ने वाक्यले कालीआमाको भित्री हृदयबाट नै लाज जगायो । यसबेला आफुलाई सबैभन्दा बढी विश्वास गर्ने आफ्नो भरपर्दो भरोसालाई ठूलो धोका दिएको महशुस भयो । आफुले जीवनमा गर्न नहुने गल्ति गरेको भान भयो । जुन गल्तिले जिन्दगीलाई नै अन्धकार बनाएको अनुभूति दिलायो ।
यसबेला कालीबालाई आकास आएर थिचेको महशुस भइरहेको थियो । आज कालीबालाई पुर्ण विश्वास लागेको छैन र हिजो त झन कसैले यो शंकाको कुरो गर्नेलाई शत्रुझै ठान्दथ्यो । हुनत त्यो सालाघारीको कथा कालीको बाबाले साउदीबाट आएको छ महिना पछि हप्ता दिन अघि मात्र सुनेको थियो । राती ओछ्यान लाग्ने बेलामा ‘कुरो के हो त कालीआमा ?’ भनेर सोध्दा छड्के जवाफ आएको थियो ‘पेटमा नाचिरहेको छ यस्तो नानाथरीको कुरो मनमा लिदा भलाई हुन्न बाबा, अब सबै कुरो बिर्सौ ।’ भन्ने जवाफ आएको थियो । कालीबालाई आफ्नो श्रीमतीसँग पुर्ण विश्वास थियो । आफुलाई आफ्नो श्रीमती सावित्री ठान्दथ्यो ।
अगेनोको छेउमा बसेर काली बाले आगोलाई अगुल्ठोले ठोस्दै छ दिन अगाडिको आगेको छोरोको विवाहमा घटेको घटना एक–एक गरी सम्झ्यो ।
त्यो दिन बीरेको बुहारी पोईला गईन भन्ने हल्ला चल्यो । त्यही निहुमा कालीबा र बीरेको मारामार चल्यो । बीरेले सही नसक्नु वचन दिएकोले कालीबाको रिसले पारो चढ्यो । बीरेको ‘तेरो बुढी चाही सालघारीमा नाठो सँग सल्केको नदेख्ने मेरो बुहारीको के कुरा काड्छस है माइला ।’ भन्ने वाक्य कालीबाको कानमा फेरी गुन्जियो ‘आफ्नो आङको भैंसी नदेख्नेले अर्काको आङको जुम्राको कुरा नगर माइला ।’ बीरेको यो भनाई पटक–पटक कानमा गुन्जियो । आफ्नो सावित्री स्वास्नीलाई मनपरी भनेको रिसको झोकमा वीरेको टाउको फुटाएकोमा पन्च भलाद्मी भेला भएर छलफल सकेको तीन दिन मात्र भएको थियो । कालीबाले उपचार खर्च वापत पाँच हजार जरिवाना र बीरेले माफी मागेर मिलोमतो भएको थियो । त्यहाँ धेरैको मुखबाट ‘परालमा किन आगो झोस्नु है, जे भयो सक्यो ।’ भन्ने आवाज निस्केको थियो ।

‘काली बाबा !’
‘के भयो आमा ?’
‘खै ! केभा’ हो, पेट करायो नी ।’
कालीबाले आफ्नो गह्रुगो शरीर उठायो । तोङ्वा लगाएर अगेनोमा सेकाइ दियो र अंगनमा गएर मकाइको दानो छर्दै ‘तुआ ! आ…. !’ भन्दै कुखुरा डाक्यो ।

— — —
एक कान दुई कान मैदान भने झै काली आमाले छोरो जन्माएको हल्ला गाउँ भरी फैलियो । कालीबा भने लाजले आँगनमा निस्कन सम्म सकिरहेको थिएन । असारको चटारोले हो यात अरु नै कारणले हो छिमेकीहरुले पनि आँगनमा पाइला पुराएका थिएनन् । नराम्रा कुरो न हो, ‘काली वा घरमा सुत्केरी स्याहार्दै छरे’ भन्ने हल्ला भने गाऊ भरी व्यापक बनिसकेको थियो ।
विहान — विहानै सुबिदार बा लाउरो टेकेर आँगनमा उभियो । ‘माइला ! माइला ! भित्र को छ ?’ सुबिदार बा टाउको तन्काउदै करायो । ‘म छु सुविदार बा ।’ भन्दै कालीको बा ढोकाबाट निस्कियो ।
‘हैन गाऊमा खबर त राम्रो छैन नी ?’
‘हो सुविदार बा ! जे हुनु भई हाल्यो अब के गर्नु र ?’ टाउको निहुराएर काली बाले भन्यो ।
‘हामी खाना खाएर आउछौ । अब के गर्छस है ।’
‘के गर्नु र सुबिदार बा ? अब जे होला नी ।’ त्यो भनेर सुबिदारबा आफ्नो बाटो लाग्यो । कालीबालाई भन्न मन लाग्यो ‘सुबिदारबा तिमि पनि लाहुरे हौ । घरमा स्वास्नी राखेर पल्टनमा त्यतिकै मन बुझाएर त बस्यौन नै ? पल्टनमा त वल्लो घर र पल्लो घर सापटी चलाउने चलन छ रे । आज तपाईले किन ति दिनहरु बिर्सदैछौ ?’ कालीबाले आफ्नो विगतलाई नी सम्झयो । आखिर छोरो मान्छे पनि कहाँको कञ्चन हुन्छ र ? छोरो मान्छे धेरै नै पापी हो । आफुले जीवनभरी काम चलाएको समान नयाँ नै होस भन्ने चाहन्छ ।’ कालीबाले सुबेदारबालाई डाँडाले नछेकिए सम्म हेरिपठायो । यो समाजले जे ठहर लगाए पनि आफ्नो निर्णय न्यायको लागि सबैभन्दा उत्तम हुने निचोडसंगै कालीबाले आफ्नो विचारमा तथस्ट हुने निर्णय गर्यो ।
दिनमा आँगनभरी मान्छेको भेला भयो । महिला, केटाकेटी र भलादमीको मेला लागेको थियो । कालीबालाई अगाडी उभाइएको थियो । कालीबालाई पन्चले सोधे ‘माइला तँ विदेशबाट आएको छ महिनामा तेरो स्वास्नी सुत्केरी भईन अव के गर्छस त ?’
हात जोडेर कालीबाले विन्ति गर्यो ‘जे हुनु भइहाल्यो, एक पल्टलाई माफी दिए हजुर ।’
‘कहाँ त्यसरी हुन्छ ? भा’ हाडनाता पो थियो की ? हैन भने पनि यो कसको बच्चा हो, हामी दाजु भाई स्वीकार गर्न त सक्दैनौ नी ? यसरी समाजको अपहेलना गर्न त भएन नी माइला ?’
पछाडीबाट एउटी महिला बोलीन ‘सुबिदारको कुरो ठिक हो है ठिक हो । दुधको दुध पानीको पानी चाहिँ हुनै पर्छ है ।’
पछाडी फर्केर सुबिदार बोल्यो ‘समाजको कुरो के हो त ?’
केही समय हो–हल्ला मचियो ‘यसरी छाड्न हुन्न समाज बिग्रन्छ’ भन्नेमा सबैको भनाइ एउटै भयो ।
छलफल पछि समाजको निर्णय आयो । समाजको निर्णय निकै नै कठोर थियो । कालीबाले श्रीमती त्याग्नु पर्ने, यदि होइन भने समाजको निर्णय मानेर समाज भन्दा अलगै गएर बस्नु पर्ने भयो ।

— — —
अगेनोमा निहुरीएर काली बेस्सरी आगो फुकिरहेकी थिइन । सायद उनलाई भोकले सताएको थियो होला, हावाको दवावले उडेको खरानी हिऊझै सेताम्मे भएर कालीको टाउको रंगिएको थियो । कालीको टाउकोको सेताम्मे खरानी टक्टकाउदै कालीको बाले भन्यो ‘छोरी ! हामी यो समाजमा नअटाउने भयौ, त्यसैले भोलि विहान हामी भञ्ज्याङ काट्छौ । तिम्रो कापी किताब भारी लगाउनु ल ।’
‘किन बाबा ?’
‘खोई ? यो समाज सानो भयो रे । यहाँको नीति, नियम हाम्रो लागि होइन रे ।’
‘अनि हामी कता जाने बाबा ?’
‘जहाँ पुग्छौ, त्यही जान्छौ छोरी ।’
‘घुँक्क !’ घुँक्क !’ कुनामा कसैले चित्त दुखाएर आफ्नो मनमा उथल पुथल भएको बेदना पोखिएको आवाज आयो । कालीबाले त्यतैतिर फर्केर भन्यो ‘काली आमा ! तिमी किन आफै कम्जोर बन्दैछौ ? तिमीले दिएको सामथ्र्यले म यहाँ टेकेर उभिएको छु भने तिम्रो कैलाश जस्तो उच्च र चौडा छाँतीलाई किन आफै निच बनाउँदै छौ ?’

— — —
ढाकर माथीको भाले तेस्रो पल्ट बाँस्दा भञ्ज्याङ माथी ढाकर विस्सियो । कालीबाले निधारको पसिना चोर औलाले फ्याउरी लगाउदै पारी गाउँ तिर फर्केर हेर्यो । गाऊको शिरमा सुर्यदयले चुम्दै थियो । तलतिर गाउँ घरले भने सुर्यको आगमनलाई स्वागत गर्दै थियो । सल्लाघारीका सालहरुले निन्याउरो भएर बिदाईको संकेत गर्दै थियो । काली आमाले नी हातमा सानो नानी लिएर पारी हेर्यो । सायद उनको लागि त्यो सालघारी निकै नै विस्मरण योग्य थिएन । कालीको बालाई भने पक्का पनि त्यो सालघारी देखि मनभित्रबाट डाहा लागिरहेको थियो । भञ्ज्याङको चिसोले होला, काली आमाको हातको बच्चा ‘च्याँ…! च्याँ….!’ गर्यौ । कालीबाले के भएछ भन्दै हेर्यौ । कालीआमाले नाक छाम्दै भन्यो ‘बाबा जस्तै छोरो ।’
‘बाबा जस्तै छोरो । ’ शब्दले कालीबाको मुटुमा चस्स सियोले हान्यो । ऊ बोल्दै बोलेन । त्यसपछि पो काली आमालाई लाज लागेर आयो । लाजले शीर निहुराईन । सधै काली जन्मदा ‘बाबा जस्ती ।’ अर्कोले ‘होईन आमा जस्ती ।’ भन्दै निकै समय सम्म विवाद हुन्थ्यो तर आज कालीबा र काली आमाको मुखमा त्यो हर्सित तर्क छैन । दुबै मौन छन् ।
पिठ्यूँमा ढाकर अडाएर कालीबाले अन्तिम पल्ट आफ्नो गाऊलाई हेर्यो । अनि निधारको नाम्लो सोझ्याएर आफ्नो बाटो ततायो ।
सबै भन्दा अगाडी कालीको आमा हातभरीको छोरो बोकेर बाटो लागिन । त्यस पछि काली, काली पछि बाख्राको पाठो र त्यो पाठो लखेट्दै पिठ्यूमा ढाकर बोकेर कालीबाले पछ्याउदै थियो ।
संसारको सबैभन्दा राम्रो ठाउँ रोज्नु पर्दा प्राय सबैले आफु जन्मेको, हुर्केको र खेलेको ठाऊ नै रोज्छन । आज त्यो प्राण पछिको प्यारो भुमि त्यागेर कालीको परिवार अनिश्चित यात्रामा निस्किए । आज कालीको परिवारले न्याय गुमायो यात समाजले नै पायो, आफ्नो सबै चाहनाहरु समाजलाई समर्पण गरेर सानो घटनाले कालीको परिवारलाई एउटा अदृष्य गन्तव्यको मार्गमा धकेल्यो ।